Tuesday, June 25, 2013

घुम्दै जाँदा गोरखा बारपाक

अघिल्लो दिनसम्म थाहा थिएन, बारपाक भोलि गइन्छ वा गइन्न । हामी लगत्तै स्याङजा (घर) पनि नगइ नहुने थियो । हामी खर्चको कारणले बारपाक वा स्याङजा एउटा ठाउँमात्र जान सक्थ्यौं । बारपाक जाने हो भने विहान ६ बजे नयाँ वसपार्कमा पुग्नु पर्ने तर ७ बजे उठिएछ, ८ बजे सम्म त्यत्तिकै अलमलमा रह्यो, अलमल गर्नुको कारण खर्च नै थियो । अन्त्यमा जे त होला भनेर आ–आफ्नो झोला बोकी बर्षौ देखि जान इच्छा भएर पनि जान नसकेको ठाउँ बारपाक, गोरखा जाने भयौं । बारपाककै दिदीले भने अनुसार गाडी छुटिसकेकोले दुई तिन ठाउँमा हामीले गाडी फेर्नु पर्ने भयो । त्यो दिन नेपाल सरकारले भन्ने गरेको नयाँ वर्षको अघिल्लो दिन थियो । नयाँ वर्षले गर्दा दिकट पाउनै धौं, खैरेनी (बारपाक जाने बाटो) सम्म सधै तिर्ने भाडा भन्दा बढी तिरेर टिकट काट्यौं, हामी माइक्रो चढी खैरनी लाग्यौं । नयाँ वर्ष मनाउन प्राय युवा युवतीहरु जोडी कसेर गइरहेका देखिन्थे भने कोही बाइकको जुलुस जसरी हुल बाँधेर गइरहेका थिए, नयाँ वर्ष मनाउने संस्कृति पनि अचम्मले बढेको रहेछ ।

मनमा खुल्दुली बीचमा खैरनीबाट १२ किलो झरेर बालुवा जान लाग्यौं, त्यहाँको खुद्रा पसल, मानिससँगै अटेस मटेस गाडीमा राखिएका सामानहरुले नै गाउँ जाने नाका हो भन्ने भान दिन्थ्यो । १२ किलोबाट बालुवाको लागि बस हिड्यो, बाटो वरिपरिको सुन्दर घर, हरियो हिउदे धानका व्याड, धुलाम्मे कच्ची सडक, वरिपरि बाटोमा बनहरुतिर गाउलेहरुले नै लगाएको डढेलो, भैसी काटेर भाग लगाई रहेको बस्तीको दृश्यले गाउँका यादहरु दिन्थ्यो । बाटोमा ठुला ठुला डोजरले  बाटो बनाउदै र खोलामा पक्की पुल निर्माण पनि हुदै थिए ।

बसमा शुरुमा टनाटन यात्रु र सामानको लोड भएकोले हामी सिटमा बस्नेलाई सजिलो भयो । बालुवा पुग्न आधा उदी नहुदै यात्रुको सँगै झर्ने सामानले गाडी हलुका हुदै गयो, त्यसपछि कच्ची सडकको खाल्डा खुल्डीमा कहिलेकाँही त यसरी उफ्रन्थ्यो कि टाउको सिटमाथि ठोकिन पुग्थ्यो । बसको पछाडिको सिट सबै लथालिङ भइ सकेको थियो, त्यही उफ्राइमा सिटमा जम्मेको धुलो बस भित्र नै आँखा नदेख्ने गरि धुलाम्ये हुन्थ्यो, बस रोकिदा फेरि धुलोको मुस्लो त्यसरी नै बस भित्र पस्थ्यो । एकचोटि त बारपाक हामीलाई अति टाढा लाग्यो, खोलै खोला त्यत्रो समय कुदाउदा पनि कहिल्यै नआउने, खोलाको मुहान मै होकि क्या हो बारपाक भनेर रेला पनि गरियो ।

एक ठाउँमा एक जना फुल माया नामकी दिदीले काक्रो बेच्दै थिइन्, बिहानै काटेर होला काक्रो खुम्चिएको थियो, तर दिदीको अुनहार पनि त्यो सुक्न लागेको काक्रोको भन्दा कम थिएन त्यस माथि पनि अनुहारमा नमिल्दो (ओभर)े मेकअपले अनुहार हेरि नसक्नु थियो  ।
बालुवा कहिले पुगाउला, अनि बारपाकको लागि गाडी पाइन्छ कि पाइन्न भनेर मन आत्ति रहेको थियो । हामी ५ बजे साँझ बालुवा पुग्यौं बारपाक जाने गाडी छुटीसकेछ,, बारपाक जाने ट्याक्टर पाइन्छ कि भनेर सोध्यौ कही पाइएन् । मान्छे बालुवा भए पनि मन बारपाक पुगिसकेको थियो, आज बालुवा बसियो भने भोलीको दिन पनि त्यत्तिकै जाने थियो किन कि बारपाक जाने गाडी भोली दिउसो २ बजे वरिपरि मात्र त्यहाँबाट जान्थ्यो । केही पाइला भए पनि अगाडी बढ्नु पर्छ, भनेर ३ वटा चाउचाउ किनेर फेदी (बालुवा भन्दा माथि) सम्म जाने निर्णय भयो । बारपाकमा नेपाली नयाँ वर्ष रमाइलो हुन्छ भन्ने सुनेका थियौ, त्यो रमाइलो हेर्न मलाई औधी मन थियो छुट्ने भयो भनेर चिन्ता लाग्यो । हामी सँगै बसमा आएको एक जना दाईले हामी हिड्न सक्दैनौं भनेर बालुवामा नै छाडेर हिडी सक्नु भएको थियो । फेदी पुग्ने ध्येयले रात पर्न लागेको नौलो ठाउँ एक छिन भए पनि गाडीबाट झर्दा चिनेको दाइसँग हिड्दा अलिक सुरक्षित महसुस ग¥यौ । दाईलाई भेटाउने गरि हिड्यौं र केही समयमा नै उहाँलाई भेट्यौ । गफ गर्दै जाँदा, उनीहरुको हिडाइमा हाम्रो पनि हिडाइको गति मिलेकाले दाईलाई विश्वास लाग्यो कि के हो ? यदि जान्छौं भने बारपाक मुनि मेरो गाउँ छ, त्यहाँ सम्म हिड्न सक्छौं भने जाउ भन्यो, द्वारिकाले फुर्तिका साथ, हुन्छ भनि हाली । दाईको अर्को साथीले प्याट भनि दियो कि हिडाईबाटै थाहा हुन्छ नि उहाँहरु हिड्न सक्नु हुन्छ । नचिनेको ठाउँ त्यस माथि अध्यारो हुदै थियो, एक तिर मनमा मान्छे कस्तो हो डर लागिरहेको थियो । आफ्नै समुदायकोे भने पछि हामी भन्ने भावना बढी नै हुदो हो, मेरो गाउँको रहनसहन, चालचलन, समुदायको बारे उत्सुकतापूर्वक सोधे, मैले पनि सोधे, विस्तारै मलाई डर भन्दा भर लाग्न थल्यो । दाईले मान्द्रेमा खाने, सुत्ने व्यवस्था म गरिदिन्छु, नभए मेरो घरमा डेढो खाएर सुतौला  (अरु दिन नसके पनि गरिबले कम्तिमा पनि डेढो त दिन सक्छन् नि भनेर यो वाक्य प्राय धेरै गाउँमा प्रयोग गरिन्छ, जहाँ डेढो प्राय गरिबहरुले मात्र खान्छन् भन्ने मान्यता हुन्छ, त्यो दाइ पनि डेढो भन्दा भात राम्रो भन्ने मान्यताबाट अछुतो हुनु भएन् ।) बारपाक मुनिको मान्द्रे गाउँको काल्पनिक दृश्यहरु मेरो आँखामा नाचिरहेका थिए, बिहान उठ्ने वित्तिकै घरको आँगनबाट हिमाल, डाँडाकाँडा र बस्तीहरु हेर्दा मन कस्तो होला, मन बेचैन भइरहेको थियो ।

फेदीमा खाजा खाने भयौं, लोकल माछासँग खाजाको स्वाद सा¥है मिठो भयो, पसलहरु पहिला गाउँघरमा सदरमुकामबाट भारी बोकेर आउदा थकाइ मार्ने चिया पसलहरु जस्तो लाग्थ्यो । एकै छिनमा बारपाक जाने एउटा ट्याक्टर आयो तर ट्याक्टरको लाइट बिग्रेकाले बारपाक नजाने तर लाइट बिग्रे पनि मान्द्रे सम्म जाने भन्र्दै थियो । तर ट्याक्टरमा जानु भन्दा आफूलाई हिडेरै जाउ जस्तो भइ सकेको थियो, मन भित्र बाटै आएको जोश नै अर्कै थियो त्यस माथि, रु ४०० पनि बच्ने । त्यो दाईले कता ट्याक्टरमा जाउ भन्ने चिन्ता, ट्याक्टर नजाने भयो । त्यसपछि मान्द्रेको दाइ र उनका दुइ छोरासँगै करिव साँझ ८ बजे तिर फेदीबाट उकालो लाग्यौं, हामीसँग लाइट नभएकोले अफ्ठ्यारो पर्ला कि भनेको त दाईको सामसुङ ग्यालेक्सी मोबाइलको लाइटले हामीलाई बाटो देखाउने काम ग¥र्योे । मलाई उकालो चढ्दा कति ठाउँमा मुटु फुट्ला जस्तो हुन्थ्यो, भोलि बारपाक पुग्ने धुनले ती पिडा भुल्थे । मलाई गाउँघरमा मेलपात गरेर बेसीबाट लेक चढेको दिनहरु सम्झाना आयो । हामी उकालो चढ्दा कति ठाउँमा डोजरले भत्काएको पुरानो बाटाहरु र सडक विस्तार गर्दा थुप्रिएको माटोले हिड्न सा¥है अफ्ठ्यारो बनाउथ्यो, कति ठाउँमा तल हेर्दा छाँगा जस्तै लाग्थ्यो । डोजरले खनेको बाटोमा हिड्दा कहिले धुलो, कहिले पुरनो बाटो सटकट भन्दै गाउँको भाईहरुको गतिमा हिड्दा चिप्लेर तलतल जान्थ्यो तथापि हामी चार खुट्टे बनेर छामछुम गर्दै उकालो चढ्यौं ।

दाइले म र द्धारिका बीच नाता सोध्यौ श्रीमान् श्रीमती भने पछि पक्का हो नि भनेर प्रति प्रश्न गर्दै हुनु हुन्थ्यो । श्रीमान श्रीमती भन्छन् घुम्न आउछन्, बस्न दियो, रमाइलो गर्छन्, बजारका केटाहरु त्यत्तिकै केटीलाई अलपत्र पारेर जान्छन् त्यसैले सोधेको रे । मैले फेरि हो भने । तर दाइलाई विश्वास लागेनछ क्यारे फेरि त्यहि प्रश्नलाई व्याख्या गर्दै हुनु हुन्थ्यो, म कसरी प्रमाणित गरौं, म अनुत्तरित भए । मैले कुरा विस्तृत बताए पछि उहाँले विश्वास गर्नु भयो, तर वास्तवमा गर्नु भयो कि भएन थाहा भएन । दाईको अनुसार धेरै युवा जोडीले गाउँलाई मोजमस्तीको थलो बनाएछन् कि जस्तो लाग्यो ।

चकमन्न रातमा उकालो चढ्दा तलबाट बाइकमा एक जना युवा आइरहेको थियो, पछि पछि अरु साथीहरु रहेछन् । उनीहरु नयाँवर्षमा वारपाकमा नयाँ फिल्म देखाउन रे, नेपाली फिल्मले बजार तिर दर्शक पाउन छोडे पछि बाक्लो बस्ती भएको गाउँ तिर छिरे जस्तो थियो । हामीसँग हिड्ने दाइ म माथि गाउँमा खान भनि दिन भनेर उसँग बाइकमा गयो । उनको दुई छोरा र हामी दुई उकालो लाग्यौं, ती भाईहरु गुरुङ भए पनि हाम्रो भाषा मिलेन भाइ भन्दै थियो यो घले भाषा हो, गुरुङ भए पनि त्यता तिर भनिने घले भाषा बोल्दा रहेछन् । गाउँको मुनि चिहान घारी रहेछ, गाउँतिरको भुत प्रेत मसानको किम्बदन्तीहरु सम्झेर मन धक्क फुलेर आयो, त्यसै त चुक जस्तो अध्यारो जंगलको बाटो यो कुरा भन्यो भने अरु डराउलान् भनेर मन दरिलो बनाए ।

भाइहरुलाई लिन उनको आमा र दिदी आएका रहेछन्, माथिबाट के बत्ती बलेको थियो सानो भाई हराएको चल्ला माउ देख्दा कुदे सरी उकालोमा हामीलाई छोडेर दौडियो । भाइहरुको आमाले घर तिर जाउ भने तर दाईले माथि अर्को बस्ने ठाउँ खोजेकाले सानो भाईलाई आमासँग पठाएर ठुलो भाई हामीलाई घर चिनाउन गयो । गाउँघरमा अझै पनि गाउँलेकोे दिने सदभाव कायम रहेछ, यसले मन छोयो ।

उकालो चढ्दा सबै भन्दा बढी पानीलाई सम्झे । त्यहि बीचमा स्कूलमा धित मरुनजेला पानी खाइयो, भाईले भनेको फेदीबाट त्यहाँ स्कुल पढ्न आउने रहेछ कति त फेदिबाट बारपाक पनि आउछन् रे, त्यत्रो उकालो बाफरे ।

एकै छिनमा हामी बास बस्ने घर आइ पुग्यौ, बाइक चढेर आउने दाईहरु भन्दा पहिले हामी पुगेछौं, एक छिनमा चिसो खादै उनको बुवालाई पर्खियौं त्यसै बीचमा परिचय भयो, म गुरुङ भएकोले उहाँहरु उत्सुकता पूर्वक कुन गुरुङ भनी सोधे । मैले ङोरा भने पछि अक्मकिनु भयो, उहाँको अनुहारले ४ र १६ जातको कुरामा अक्मकियो जस्तो लाग्यो, मैले भनि दिए तपाईले भने जस्तो त्यो दुइ वटामा कुनैमा पर्दैन । आमा र छोरीमा ईशारामा गफ भयो, तिनीहरु भन्दा सानो भन्ने लाग्यो कि क्या हो, अनुहारको हाउभाउ अलि ङिच्च पा¥र्यो आमालाई छोरीले घले भाषामा ४ र १६ पर्दैन रे के भन्यो, उनीले आफूलाई सम्हाली । मलाई आधा घण्टा जति व्याख्या दिन मन थियो, के गर्ने हिन्दुकरण गर्ने क्रमको अवशेषको रुपमा लिए, सामाजिक यर्थाथ सम्झे । दृश्य हेर्न लायक थियो । मलाई त त्यो भाई आफ्नै लागेर मैले केही पैसा दिन लाग्यो मरिकाटी लिन मानेन । अन्त्यमा ती दाईलाई धन्यवाद भनेर हामी छुट्टियौं ।

हामीलाई सा¥है आनन्द लागि रहेको थियो, भोलि समयमा बारपाक पुगिने भयो भनेर, हामीलाई त बास मात्र खाँचो थियो तर हामीले लाख (गाउँघर तिर धेरैलाई लाखसँग दाज्छन्) पायौं, शुरुको त्यो दृश्य बाहेक एकदमै सौहार्दपूर्ण वातावरणमा भयो । घरबेटी बा वडा अध्यक्ष रहेछन् क्यारे, आफ्नो कार्यकालमा यसरी पानी ल्यायो भनेर हामीलाई सुनाउदै थिए । मान्द्रे पुगे पछि मलाई लेकको झल्को दिइ रहेको थियो ।

बिहानै ६ बजे घाम नआइसक्दा वारपाक पुग्ने हाम्रो धोको थियो, त्यही अनुसार हामी उठेर हिड्यौं । फेरि यता आउदा बस्ने बाचा गर्दै अब आउदा गोरखा माथिल्लो बेल्ट तिर घरवेटी बा आमा सँगै जाने बाचा गरेर हामी हिड्यौं । बिहानी पख उकालो चढ्दै डाँडाकाँडा बस्तीहरु हेर्नु, ऐंसेलु टिप्दै खादै फोटो खिच्दै चढ्नु सा¥है रमाइलो भयो । गाउलेहरु मकै गोड्दै थिए, स्वतन्त्रपूर्वक गाउँ हिड्नुको मज्जा नै बेग्लै । राँगो लिएर बाली लाउन हिडेकाहरु, १० १५ वटा भेडा लिएर भेडा चराउन आउनेहरु भाइ बहिनीहरु, गाउँको बनभोजको लागि बजारबाट बोइलर कुखुराहरु डोकोमा बोकेर आएको दृश्यहरुले गाउँको चरित्र बुझन सहयोग गरि रहेको थियो ।

मृत्यु भएको परिवारका सदस्यको
नाममा  बनाइएका पाटी
मृत्यु भएको परिवारका सदस्यको नाममा बनाइएका थकाइ मार्ने पाटीहरुले त्यो गाउँको सांस्कृतिक आयामहरु बताउदै थियो । घाम पनि झूल्किनु बारपाक पनि पुग्नु क्या मज्जा, बोइलर कुखुरा बोक्ने दाईसँग कुरा गफ गर्दै हिड्दा बरपाक पुगेको थाहा नै भएनछ, एक हुल मकै गोड्नेहरु हामीलाई हेरि रहेका थिए । गाउँमा को आयो भनी चासो राख्ने त गाउँको विशेषता नै हो ।

हामी के बारपाक छिरेको थियौं एकै छिनमा मेरो आँखा सार्वजनिक शौचालयमा प¥र्यो, मलाई क्या आनन्द लाग्यो, गाउँमा सार्वजनिक शौचालय पनि रहेछ भन्न के लागेको थिए । शौचालयको ढोका फोरिएको रहेछ, ढोका कुचिएको थियो, सार्वजनिक भने पछि सबैको व्यवहार त्यही त होला नि, सार्वजनिक भनेर हेला गरे कि । बारपाकमा अति सुन्दर ढुंगाका छानाहरु भएको घरहरु देखे, मन साह्रै बहकियो, तर मैले सोचेको सुनेको र अपेक्षा गरेको बारपाक जति थिएन । मेरो अपेक्षा बढी भयो कि जस्तो लाग्यो । एकै छिनमा होम स्टे घरमा पुग्यौं परिचय आदान प्रदान भए पछि घुम्न आएको भनेर हामी खाना खानु भन्दा पहिला एक चोटी नुहाएर गाउँ घुम्यौं ।

गाउँ घुम्दै जाँदा बनभोजको माहोल भएकोले ठुला ठुला संगीतको आवाजले गाउँ नै घन्किरहेको थियो । यहाँ टोल अुनसार बनभोज हुदो रहेछ । हामी शुरुमा दलित बस्ती माथिको बनभोजमा गयौं, दलित घले र गुरुङहरुको संयुक्त बनभोज रहेछ ।एकजना अधवैंशे जतिको दाजु विहानै तिनपाने दिएछन् क्यारे टुटेफुटे अंगे्रजीमा Where from?? Where from?? भन्दै थिए । म यहाँबाट आएको भनेपछि पुरा तालमा गाउँको वर्णन ग¥र्यो । गीतमा रोइला भाका बज्दै थियो, जहाँ हिन्दु संस्कृतिको जनाउ दिन्थ्यो । एक जना बाजे भेटेको यहाँको नेता दल कुमारी हो, तिनीहरुले मेरै घरमा गुरुङ÷घले संग्रहालय बनाउदै छन भन्दै हुनु हुन्थ्यो ।

बारपाक गाउँ - photo from http://nepalhimalayaguide.com


बारपाक गाउँ अर्कोतिर
पहिलो दृश्य नै दलित बस्तीमा प¥र्यो, त्यहाँ त्यो बस्ती गाउँको छेउमा थियो । बनभोजको लागि कति ठाउँमा कुखुरा, कति ठाउँमा भेडा काटेका थिए । गाउँमै पाउरोटी कारखाना, हेयर ड्रेसर, व्युटी पार्लर, बोइलर कुखुराको फार्म, पुल स्नुकर, कम्प्युटर इन्टरनेट, लोड सेडिङ नहुने बिजुली बत्ती, गाउँ भित्र होटल अनि त्यस माथि पक्की घर बनाउने होडबाजीले गाउँ भित्र शहर पसिरहेको थियो । तर गाउँमा डोको बोकेर उन कात्दै हिड्दै गरेका आमाहरु, बाक्लो बस्ती भित्र भेडा बाख्रा दौडिरहेकोे, बुढा बाजेहरु डोको बुनी रहेको, ढुंगाले छापेको बाटाहरु, बच्चा चोयाको कोक्रोमा बोकेर हिढेको दृश्यले साच्चै आनन्द दिलाउथ्यो ।
घाँस काटेर आउदै



डोको बुन्दै


मुड्को बोकेर ल्याउदै
गाउँमा दिउसो बनभोज रहेछ, हामीलाई बोलाएर गएपछि शरुमा निकै अप्ठ्यारो मानि मानि गयौं । भेडाको मासु चिउरा खाना खाएर नाचेर रमाइलो गर्ने रहेछ, हामी केही खाएर अलि माथि तिर गएर त्यहाँ बारपाक गाउँ हेरि रहयौं । बाख्रा चराउन गएको एकजना ७० कटेको बाज्यैसँग गफ भयो । मैले उहाँलाई यस्ता बनभोज तपाईको पालामा हुन्थ्यो कि हुन्थेन भनेर सोधेको, यो भाको नै बल्ल ७ ८ वर्ष भयो कि भन्दै हुनु हुन्थ्यो (ठिक समय पत्ता लगाउन सक्नु भएन) । गाउँको भन्दा शहरको चाल चलनहरु राम्रो भन्ने परिपाटी कसरी फैलिदैछ, चाहेर वा नचाहेर पनि शहरका मान्यताहरु कसरी गाउँ भित्रदैछन्, त्यसमा सरकारको सार्वजनिक विदाहरुले सबैको सहभागीको लागि कसरी सघाउ पु¥याउदैछ । गाउँबाट पढ्न निस्केका पुस्ता, विदेशमा काम गर्न गएका दाजु भाइ तथा दिदी बहिनी, अनि सदरमुकाम, बजार तिर बस्नेहरु कसरी यि परिवर्तनका संवाहक बन्दैछन् । यो एउटा घटनाले धेरै बोल्छ, जस्तो लाग्यो । (यस मुद्दामा आगामी लेखहरु हेर्र्दै गर्नुहोला)

बनभोज कार्यक्रम

बनभोज सहभागीहरु
हामी एकै छिन तल दलित र गुरुङहरुको संयुक्त बनभोजमा आइपुग्यौं । नाचिरहेकोले भिडियो खिच्नु प¥यो भनेको त, द्वारिका र मलाई नाच्न पो लगाए,  द्वारिकाले त नाचि पनि दियो । खाना खान अुनुरोध गरे, दिमागले खा भनिरहेको थियो, मनले नखा भनिरहेको थियो, मेरो मनमा त्यति खेर दलितको भोज भनेर अखडा जमायो कि (म भित्र अझै खराव मुल्य मान्यताको जरा कायमै रहेछ, देखाउने कुरा रहेनछ, घटनाहरुमा देखिने कुरा रहेछ, थुक्क म) अर्को अरुको ठाउँमा खाना खादैं हिड्नु अप्ठ्यारो लागिरहेको थियो । गुरुङ घले दलित सबै सँगै खाएको देख्दा म दंग परे, यो माओवादी जनयुद्धकोे उपज रहेछ । मलाइ चार्हि  यो गजब लाग्यो ।  माथि माइकबाट भन्दै थिए, खाना खान छिटो आइदिनुहोला, घर लगेर नखानु होला, त्यति नै बेला एक जना घले बाजे ओर्लि रहेको थियो, एक जना दलित दिदी खाना खान बल्ल जान लागेछ, साथीलाई छिटो जाउ भन्दै थियो । घले बाजे ले रवाफ देखाइदिइ हाले, कुजातहरु किन ढिलो गरेको हामी घलेहरु गएर आइसक्यौं, कुजात भनेको कुजातै हुन्छ, खाको तालमा ठोकी हाले तर ति दलित दिदी त्यसलाई बडो सामान्य पूर्वक लिदै थियो । नकाराइ जा बुढो रक्सी लाएर किन बाटो बाटो फलाक्दै हिड्छौं, ठुलो जातको प्रभुत्व कसरी झेली रहेका छन् भनी प्रष्ट देखिन्थ्यो, द्वारिकालाई ज्यादै नमिठो लाग्यो ।


फेरि गाउँ घर घुम्न गयौं । गाउँघरमा बाटो भरि एसियन पेन्ट लेखिएको डस्टबिन राखिएको थियो । तर कति डस्टविनहरु बिचमा कुचिएको देखियो बाबा आमाहरुलाई सोधी हेर्दा केटाहरु राती रक्सी खाएर राती रिस डस्टबिन माथि पोख्दा रहेछन् । गाउँमा अहिले पुरानो घरको सट्टा धमाधम नयाँ विल्डिङ बनाउदै रहेछ, जसले बारपाकको सुन्दरतामा कुरुपता थप्नेवाला छ । गाउँमा ढल भए पनि फोहोर मैला असरल्ल ढलतिर देखिए, जसले बारपाकलाई नराम्रो देखाइरहेको छ ।

बन्दै गरेका नयाँ घरहरु


मुख्य चोकमा देखिएको ढलको दृश्य
साँझ होम स्टेका बुवाले  भेडा पुजा गरेर फर्के पछि भेडाको मासु खाने भइयो । भेडाको मासु पकाउदै गफ गर्दा, घलेहरु पहिला त गुरुङहरुलाई अगेना पनि छुन दिदैनथे रे, अहिले दिदो रहेछ, मलाई भेडाको मासु खाने धोको थियो । होम स्टेको आमाले मासु सानो प्लेटमा थोरै राखेर दिए पछि मलाई खाउ जस्तो नै लागेन र अरु मासु खाएनौं । होम स्टेको आमा एकचोटी कुइरे आउदा हातको इसारामा बोल्न नसक्नेले झै गफ गरेर काम चलायौ भन्दै अभिनय गर्दै हसाउदै हुनु हुन्थ्यो । खाना खाए पछि बारपाकको बारेमा थप जानकारीहरु लिएर आराम ग¥यौं र भोली बिहानै झिसमिस मै बारपाकको आमापाटीको नृत्य, घाटुहरु, हिमालको दृश्य, लाप्राक जाने धोको आदि इत्यादिलाई अपुरो छोड्दै फक्र्यौ । गाउँ अति सुन्दर रहेछ, भिरमाथि समथर भागमा बसेको बस्ती एकचोटी तपाई पनि जाने कि ?? तपाइको पैसा खेर जादैन अन्त्यमा हामी बारपाकको चिनो एउटा डोको लिएर घर आयौं ।
घर

बाल बालिकाहरु खेल्दै




फर्किदै जिपमा रुख र द्वारिका

१३, १४ र १५ अप्रिल २०१३ 



थप हामीले तयार पारेको भिडियो पनि हेरौ है

Monday, June 24, 2013

छोटो धन्यवाद र प्रतिबद्धता मतव्य




त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवशास्त्र केन्द्रीय विभाग दोस्रो वर्ष (२०६८ व्याच) को विद्यार्थी साथीहरुले पहिलो वर्ष (२०६९ व्याच ) का विद्यार्थीहरुलाई स्वागत तथा सोधपत्र गर्दै गरेका (२०६७  व्याच) का विद्यार्थी साथीहरुलाई विदाइ कार्यक्रममा पहिलो वर्षको विद्यार्थी साथीहरुको तर्फबाट दिएको धन्यवाद र प्रतिबद्धता मतव्य ।

Friday, April 19, 2013

3Qs with Rukh Gurung: Fr!day Weekly

3Qs with
Rukh Gurung-President, YUWA

Year of the Youth
Several youth organizations are coming together for Youth Jatra 2010 on 11 and 12 August. Rukh Gurung, President of YUWA, and one of the organizers, talks to Fr!day about the event:

What have been your concrete achievements so far, since you started this initiative?
We have organized festivals that bring together youth. In 2005, we (not me) also formed the association of youth organization in Nepal (AYON). I think our greatest achievement has been the fact that we have brought awareness about youth issues and the ministry has started giving importance to youth policies and investing on them.

The event itinerary sounds fun and entertaining, but doesn’t the social aspect of the event get lost?
Young people like entertainment and we are trying to mix a social message with entertaining programs. For example, our b-boying program is raising awareness about drug abuse. Similarly, we are creating platforms for amateur performers and entrepreneurs, and we are organizing debates about social issues. You could say that the ratio of entertainment and social message for the event is to the tune of 60:40, but we have definitely not ignored the latter.

Through programs like these, how do you plan to mobilize the youth towards social activism?
The whole year is being celebrated as the year of the youth. We are planning to create such platforms throughout the year. These events are an opportunity for the youth to show their talents, strengths and abilities. In doing so what we are trying to do is to also encourage them to work for causes which would better the society that they are a part of. We are happy that several organizations have come Together to create the youth Jatra.
(Sabrina Singh)

details:
Sabrina Singh. 2010. Interview: Year of the Youth. Fr!day Weekly, Issue 27, July 29-August 4, p. 10

29 July - 4 August 2010, ISSUE 27Fr!day Weekly



about Youth Jatra 2010
Opening Date: 11 August (Wednesday), 10 am to 5 pm. Closing Date: 12 August (Thursday), 10 am to 1 pm. Free Entry, 9841504228

August 12, International Youth Day, is being celebrated by Association of Youth Organizations Nepal (AYON) and other organizers, through a two-day program called Youth Jatra 2010, (11- 12 August). This event aims to uphold the theme of “Dialogue and Mutual Understanding” which is also the theme of International Youth Day. The two-day event will feature musical concerts, b-boying, youth stalls (including those of food, games and entrepreneurship), documentaries of youth issues, photo exhibitions and oratory programs, amongst others. A number of youth leaders will also attend as guests.

Included in the closing ceremony is forum theatre, in which the audience can stop a scene and suggest different actions for the actors, thus involving the audience into the performance as well. A youth rally will commence from the Ministry of Youth, Kamalpokhari, using eco-friendly vehicles, and end at Jawalakhel.
Youth Jatra aims to empower the youth, encourage their participation in society and sensitize them to issues of social activism.

International Youth Day has been celebrated on August 12, since 1998. This year’s International Youth Day is a particularly important day for youth around the world since the United Nations General Assembly has proclaimed 2010 as the International Year of Youth. (Sabrina Singh - Fr!day Weekly, Issue 27, July 29-August 4, p. 10)

29 July 2010

Monday, August 27, 2012

जादा जादै युवाको सानो, तर मर्म बोकेका हरफहरु

युवा क्षेत्रमा जानी नजानी लागेको पनि पाँच छ वर्ष भएछ, यो क्षेत्रमा नेतृत्व तहमा बसेर काम गर्ने दिन सकिदै गएको पत्तै भएनछ । हामीले साढे दुइ वर्ष अघि अलि अलि दम्भ, त्यो भन्दा धेरै काम गर्ने हौसला अनि युवाको क्षेत्रमा केही गर्छु भने जोश र जाँगर बोकेर युवा बनाउने हिम्मत गरेका थियौं । युवा संस्थाहरुमा देखिएको बुढा युवाकरण, युवाक्षेत्रमा अवसर देखेर युवा क्षेत्रमा काम गर्छु भनेर गफ ज्यादा, काम र मिहेनत कम गर्ने, अनि नेतृत्व पाए पछि आफू अनुकुल व्याख्या गर्ने अनि जताबाट भए पनि आफु टाँसिने अनि युवासँग काम गर्छु भन्ने युवाको व्यवहार अनुसार चल्न नसक्ने प्रवृत्ति भन्दा हामी फरक धारको युवा संस्था हामीले बनाउन कोशिस गरेका थियौं । त्यो कति पुरा भयौ भएन मुल्याङ्कन गर्ने जिम्मा तपाइको...। आज आएर धेरैलाई थाहा नहुन सक्छ, युवा संस्था चाँहि कसरी चलेको थियो त... केही कुरा मात्र !

क) युवा सुरु गर्दा नगर्दा देखि नै हामीसंग एउटा डेलको बुढो ल्यापटप (त्यो ल्यापटपमा वृत्तचित्रहरु देखायो भने समान्य हलमा स्पीकर आवश्यकता पर्दैन थियो) र मोटरसाइकल चाहिदा हिरो होण्डाको स्ट्रीट बाइक सन्तोषले उपलब्ध गराएको थियो । हामीले सामान किन्न होलसेल पसल खोज्दै हिड्दा काठमाडौंको गल्ली गल्ली र काठमाडौ उपत्यका वरिपरिको युवाको कार्यक्रममा धेरै पटक हाम्रो सारथी बन्यो । कयौ पटक अफिसको मालबाहक ट्रक जस्तै बन्यो, त्यो बाइक... । युवाको त्यो हिरो होण्डाको स्ट्रीट बाइकसँग नाता अझ पनि मलाई गजव लाग्छ ।

ख) युवा सुरु गर्दा सबैले लागि चिया खाने कप आफैले ल्याउनु पर्ने भयो । हामीले सबैले जसरी सक्छ, त्यसरी नै सहयोग गर्‍यौ । साथीहरुले कसैले पैसा दियो, कसैले वेव पेज होस्टीङ गरिदिए, कसैले घरबाट टेबलकुर्सी ल्याए, कसैले किचनका सामान किनिदिए । हामी अफिस अर्कै पाराको बनाउन चाहन्थ्यौं, हामीसँग पैसा पर्याप्त नभएको हुदा आर्र्टिस्ट साथीहरु ल्याएर पेन्टीङहरु बनाएका थियौ । काम गर्ने कोठा युवा वर्क स्टेशन, सामान राख्ने र चुरोट पिउने ठाउँ युवा गुफा, नया युवा साथीहरु आएर बसाल्ने ठाउँ युवा चौतारी, युवा छलफल, बहस गर्ने ठाउँ युवा विश्वविद्यालय नामाकरण गरिएको थियो ।
अफिस सेट गर्न काम गर्दै

ग) युवाको सुरुवाती दिनमा हामीले कसैले पाँच हजार कसैले दुइ हजार युवाको नाममा जम्मा गर्‍यौं । तर कति केही महिना पछि सम्म, हामीलाई घरवेटी बालाई घरभाडा दिन पनि साहै गार्‍हो पर्‍यो, दुई तीन महिना सम्म भाडा तिर्न सकेको थिएन् तर हामीले घरवेटी बासँग गफ गरि उल्टो हामीलाई पचास साठी हजार दिन्छु भन्ने सम्म पारिदिएका थियौ ।

घ) युवा स्थापना गरेको नौ दश महिना तिर हुनुपर्छ, हामीले सोचेको रपतारमा काम गर्न सकि रहेको थिएन, कति बेला त लागेको थियो अब संस्था चलाउने खुविलिटि रहेनछ कि क्या हो हामीसँग । तर हामीले त्यति बेला पनि जर्बरजस्ती अगाडि बढायौं, कति साथीहरुले त घरमा बुवा आमासँग नि सल्लाह माग्नु भयो, तर हामी फेरि नयाँ तरिकाले सोचौं, नयाँ तरिकाले मिहनेत गर्‍यौं र अघि बढयौं ।

ङ) हामीले युवाको फेसबुकमा एउटा सानो स्टाटस लेख्दा पनि एकचोटि सोच्थ्यौं । एउटा सानो Flyer कार्यक्रमको बनाउदा सम्म हामीले कुन आइडियामा, कस्तो कलर आदि इत्यादिमा गर्ने भनेर बहस गथ्यौं । यहाँ सम्मा आउनुको पछाडि हामीले धेरै पटक धेरै ठाउँबाट सोचेर, निकै समय लगाएर गरेको सार्थक छलफल, वादविवाद, वहस हो । त्यस माथि हामी सके सम्म धेरै कुरालाई फरक तरिकाले सोच्ने र सिर्जनात्मक हुन कोसिस गरेकोले पनि हाम्रो कति कुरा  फरक लाग्छ ।

च) युवामा शुरुमा हाम्रो टिम नौ जनाको थियो, हामी नौ थरी  थियौं, कुनै कुरा गर्नु पर्‍यो भने कहिलेकही नौ  आइडिया आउथ्यो । हाम्रो विशेषता भनेको नै टिममा चल्ने थियो, प्राय सबै कुरा हामीले टिममा निर्णय गर्‍यौं । व्यक्तिलाई भन्दा पनि टिमलाई प्राथमिकता दियौं । हामी जति सुकै जान्ने भए पनि अझ सिक्नु पर्छ भन्ने भावना राख्थ्यौं । सबैलाई प्राय एक अर्काको व्यत्तिगत समस्या, भविष्यको योजना, कति कुरा त घरायसी पनि हामी सबैलाई मज्जाले थाहा हुन्थ्यो, जसले हामीलाई काम गर्न सजिलो गर्‍यो । पैसा हुदा लिन्थ्यौ, नहुदा लिन्थेनौं तर हाम्रो कामको गति खासै फरक परेन, फरक विषय फरक बिचार तरिकाले सोच्ने हामी बीचमा टिम स्पिरिट र यसको आयामहरु गजब थियो, कति ठाउमा  भित्र आशु भए पनि टिममा  हासो दिन सक्ने ।

छ) मलाई लाग्छ हामीले यो कार्यकालमा मिहेनत राम्रै गर्‍यौं । स्टेशनरी सामान हामी सिधा होलसेलकोमा जान्थ्यौ,  धेरै कुराहरु जस्तै वेवसाइट अपडेट, डिजाइन आदि युवामा हुदा हामी आफैले गर्‍यौं बरु धेरै पटक दोहोर्‍याएर गर्‍यौं ।   डिजाइन बोकेर हामी सिधा पि्रन्ट गर्ने ठाउँमा पुग्थ्यौं, सर्टिफिकेट कहिलेकाही बाहेक हामी पेपरको ठुलो रोल किनेर हामी नै काट्न लान्थ्यौं जसले गर्दा हाम्रो खर्च कम गरायो ।

अक्सफोर्ड विश्वविद्यालयमा डि.फिल गर्दै गरेका विद्यार्थी Andrea Koelbel ले युवामा बसेर काम गरे बाफत लेखेको नोट

ज) हामीलाई मज्जाले के थाहा थियो भने यहाँ काम गर्नेले प्रचार गर्न सक्दैनन र कतिले प्रचार गर्दैनन्, काम नगर्नेले बढी प्रचार गर्छन्, हामीलाई लाग्यो हामी काम पनि गर्छौ, आफुले गरेको कामको प्रचार पनि त्यसरी गछौं । हामी पनि डिजिटल  संसारलाई चिनेर त्यसको प्रयोग राम्रै गर्‍यौ कि ?

झ) हामीले युवा आउने नयाँ साथीहरुलाई आ अनुसारले काम गर्ने अवसर दियौ, हामीले प्राय यसरी गर, त्यसरी गर भनेनौ । हामीले कहिले पनि उसले लिएर आएको नयाँ आइडियालाई हाम्रो गराएनौ, हामीसँग काम गर्ने धेरैलाई याद होला, हामी कोही पनि कहिले पनि हाकिम भएनौ । साथी बन्ने कोशिस गर्‍यौं । हामीलाई याद छ, गर्छु भनेर कति दिन काम नगर्नेलाई पनि बोलाएर भए पनि हामीले फेरि अवसर दियौ । हामीलाई अझै पनि लाग्छ, युवा साथीहरुलाई कामको मामलामा सधै सेकेण्ड चान्स चाहिन्छ । त्यो साथीहरुलाई दियौ कि...

ञ) अजयकै भाषामा भन्ने हो भने त हामी कुरामा स्पष्ट थियौं, छलफल, विचार, बहस गथ्र्यौ, विवाद गथ्र्यौ, सहमति, असहमति जनाउथ्यौं, आफूले सकेको योगदान गथ्र्यौ अनि हामी निष्कर्ष पुग्थ्यौं । हामीले स्पष्ट रुपमा राख्थ्यौ। मलाई आज सोच्दा परिणाम र त्यसको असरलाई बढी हेथ्र्यौ कि जस्तो लाग्छ । युवा क्षेत्रमा काम गर्नेहरु युवाहरु र काम गर्छु भने बुढा युवाहरु प्राय काम र मिहेनत कम गर्ने, त्यो भन्दा बढी मेरो राइभल त्यो हो भन्दै हिड्ने प्रवृत्ति बढी देखिन्छ । युवामा काम गर्दा हामीलाइ कतिले राइभल संस्था सम्झे, कतिले प्रतिस्प्रर्धी संस्था सम्झे भने पनि हामीले उनीहरुसँग जहिले पनि साथीको व्यवहार गर्‍यौं ।

ट) हामीले काम गर्दा आइतबार, शनिबार, सरकारी बिदा, बन्द केही भनेनौं, यसले हामीलाई केही फरक पार्न सकेन । बन्द भए पनि कपनबाट रिचा हिडेर भए नि बानेश्वर युवा अफिस आइ पुग्थ्यो, कोही गोंगबु, महाराजगञ्ज, हामी भैसीपाटी थसीखेल जता भए पनि  अफिस  आइपुग्थ्यौ । हामी कहिले बिहान साढे पाँचै बजे नि अफिस खोल्थ्यौं, कहिले राती  १० बजे पछि सम्म नि अफिस बन्द हुदैन्थ्यो, हाम्रो युवा प्रतिको लगाव अनौठो थियो । कहिले काही हामी त्यत्तिकै नि बन्द गरेर फिल्म हेर्न घुम्न हिडि  दिन्थ्यौं । 

ठ)  युवासंग केही नहुदा पनि हामीले युवामा हाम्रो भविष्य देखेको थियो । युवा शुरु गर्दा हामी सबैले को कति समय युवा बस्ने भन्ने कुरा पहिले नै छलफल गरेको थियौं । सबैलाई तपाइ युवा छिर्दै गर्दा कहिले निस्कने भन्ने त्यो समय पनि निर्धारण गर्नुस् भनेका थियौं । हामीले युवा कसैको पैसा कमाउने थलो होइन, जिन्दगीको एउटा खुड्किलो हुनुपर्छ भनेका थियौं । साच्चै लाग्छ आज हामी सबै साथीहरुको जिन्दगीको खुड्किलो बन्यो । त्यहि अनुसार यही सन् २०१२ अगष्ट २५ देखि हामी शुरुको पुस्त्ामा नेतृत्व गर्ने साथीहरु म (रुख बहादुर गुरुङ), रिचा भट्टराइ, सन्तोष बोहरा, ध्रुब लम्साल, शुभ कायस्थ, बिनिता शर्माअजय उप्रेतीले नयाँ पुस्ता दिपेन्द्र के.सी., मेधा शर्मा, कञ्चन प्रसाद खरेल, सन्दीप गुरुङ, द्धारिका थेवे, सचेत गुरुङ, देविका राई, उर्सुला सिंहलक्पा लामा  युवाको नेतृत्व र सबै जिम्मेवारी हस्तारण गर्‍यौं ।

यहाँ सम्म सहयोग गर्ने सबै साथीहरु, दाई, दिदी शुभेच्छक सबैमा बिशेष धन्यवाद । नया साथीहरुलाई शुभकामना !

शुरुको सह संस्थापकहरु 

युवा टिम

नया टिम

जय युवा, जय होस्

काठमाडौ नेपाल, २०१२ अगष्ट २७

Thursday, December 30, 2010

के हो तमू ल्होछार

अर्थमा हेर्ने हो भने 'ल्हो' अर्थ साल, संवत, वर्ष, उमेर हो भने 'छार' अर्थ नया हो । यसैले ल्लोछार भनेको नया वर्ष आगमन गर्ने चाड हो वास्तवमा तमूहरुको धर्म संस्कृति अनुसार १२ वटा ल्हो  अर्थात वर्ग चक्रमध्ये प्रत्येक पुष १५ मा वर्ष परिवर्तन -ल्हो तोवाः) हुन्छ । ती १२ वटा ल्हो जनावरको नामबाट राखिएको छ जस्तै गाई वर्ग -ल्वोल्हो) बाघ वर्ग -लोल्हो), बिरालो वर्ग -हिल्हो), गरुड वर्ग -मुपि्रहल्हो), सर्प/नाग वर्ग -सपि्रहल्हो), घोडा वर्ग -तल्हो), भेडा वर्ग -ल्हुल्हो), बादर वर्ग -प्रल्हो), चरा वर्ग -च्यहल्हो), कुकुर वर्ग -खिल्हो), मृग वर्ग -फोल्हो), मुसा वर्ग -च्युल्हो) ।

यो नै प्रत्येक पुष १५ मा एउटा वर्गको विदाई गरी नया वर्गलाई स्वागत गर्दाका प्रतिनिधि हुन् । यसै अनुरुप तमूहरुले २०५६ पुुष १४ गते विदा गरेको बिरालो वर्ग -हिल्हो) लाइै २०६७ पुष १५ गते स्वागत गर्दछौ । यसरी १३ वर्ष पछि आउदो वि.सं २०७९ मा बिरालो वर्गलाई स्वागत गरिनेछ । यसरी नै वर्ग चक्र -ल्हो कोर) परिवर्तन भइरहने छ । यसरी पुष १५ को वर्ग परिवर्तन -ल्हो तोवाः) लाई उत्सवको रुपमा बनाउने संस्कृति नै वास्तवमा ल्होछार हो ।

खगोलशास्त्र अनुसार पुष १५ का दिन सुर्य पृथ्वीको दक्षिण मकर रेखामा पुगेर उत्तर कर्कट रेखातिर र्फकने दिन पर्ने हुदा त्यो दिनलाई तमूहरुले वर्ग परिवर्तन -ल्हो तोवाः) मानेको छ । त्यसदिन देखि सुर्य उत्तरायण लाग्छ । त्यस देखिनै रात छोटो दिन लामो सुरुवात भएको मानिन्छ । ज्योतिष शास्त्र अनुसार अषाढ १५ लाई सबैभन्दा लामो दिन र पुष १५ सबैभन्दा लामो रातको रुपमा लिएको पाइन्छ । यसो भनी राख्दा डिसेम्बर २२ पश्चिमी खगोल शास्त्रीहरुले निर्धारण गरेका छोटो दिन लामो रात हुन्छ भन्ने विचार र पुर्वेली वेदाङ्ग शास्त्रले पौष शुक्ला प्रतिपदालाई नयाावर्ष मान्ने परम्परासाग नजिक छ ।


ल्होछार पुष शुक्ल प्रतिपदामा तोला, पुष १५ मा तमू -गुरुङ) ले मनाउने ल्होछार, माघमा शुक्ल प्रतिपदामा तमाङले मनाउने सोनाम र फागुनमा प्रतिपदामा शेर्पाले मनाउने ग्याल्पो गरि अहिले सम्म नेपालमा  चार थरीका पाईन्छ । तोला सूर्यमा, १५ पुष गतेमा, सोनाम र ग्याल्पो चन्द्रमामा आधारित छन् । ल्होछार तमू -गुरुङ), तमाङ, शेर्पा बाहेक नेपालका थकाली, भोटे, हृयाल्मो, मनाङगे, थकाली, दुरा, जिरेल, लोमी, लेप्चा, भुटिया, डोल्पाली, हुम्ली, सिङमा, खाम मगर, नेस्याङवा लगाएत हिमाली पहाडी मुलका आदिवासीले पनि मनाउदै आएको पाइन्छ । अब दुई तिन महिना भित्रमा यस वर्षको मंगोलियन नया वर्ष चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, बर्मा, भुटान लगायतका साथै भारतको दार्जिलिङ, सिक्किम, अरुणञ्चल प्रदेश जस्ता ठाउामा मंगोल समुदायले आˆनै तरिकाले धुमधामसाग मनाउछन् ।

ल्होछार मनाउने तरिका जाति र देश अनुसार फरक आर्थिक, सामाजिक तथा साास्कृतिक अवस्था र परम्परा अनुसार पृथक छन् । नेपालमा चाहि तमूहरुले पुष १५ आउनु भन्दा पहिले देखि नै खेलकुद, अन्तरक्रिया, बौद्धिक क्रियाकलाप गरेर ल्होछारको खास दिन नाचगान गदै परम्परा देखि चल्दै आएको एक थलो जम्मा भई सहभोजन गर्ने चलनलाई निरन्तरता दिदै ल्होछार मनाएको पाइन्छ । साथै पौष १५ पछिको पौष भरि नै हर्सोउल्लासको साथ स्योर्कै खादैं ल्होछार मनाउछन् ।

Monday, June 7, 2010

मलाई त्यति मन परेन्, ठीकै लाग्यो......

मैले केही महिना अगाडी पत्रपत्रिकामा एउटा विज्ञापन पढेको थिए, नारायण वाग्लेको दोस्रो उपन्यास मयुर टाइम्स बजारमा छिट्टै आउदैंछ, नेपालमा जुनसुकै ठाउामा भए पनि त्यहि दिनमा तपाईको हातमा त्यस्तै आशयको..... खोई ठयाक्कै त मैले बिर्से । त्यो विज्ञापन पढ्दा म काठमाडौमै थिए तर उसको किताब विमोचन हुने दिनमा म हिमालको जरा तिर युवाहरुसाग गफिदै थिए होला । त्यसैले मैले विमोचनको हल्ला अझै त्यति सुन्न पाइन् । मैले निक्कै हल्लाकै बिचमा उनकै पहिलो उपन्यास पल्पसा क्याफे पढेको थिए, धेरै मैले पढेको उपन्यासहरु मध्येमा मथिल्लो स्तरमा मैले यो उपान्यास पाएा, तर चर्चा पाउनु पर्ने भन्दा बढी चर्चा पाएको मैले महसुुस गरे त्यति बेला पल्पसा क्याफेलाई । अहिले पनि मयुर टाइम्स आउनु भन्दा पहिले नै चर्चा बेशी थियो । पाठकसागको राम्रो पहुाच भएको नागरिक दैनिक र रिपब्लिका दैनिकसागको पहुच  भएको कारणले पनि नरायण वाग्लेलाई धेरै फाइदा पुग्यो ।

पराग यादव, मयुर टाइम्सको सम्पादक, यो उसको जीवन वरी परि घुमेको छ, पराग यादवलाई आपहरणकारीले अपहरण गर्छे ।

तराई मुलकी ओभरसियरकी छोरी बुवाको सरकारी जागिर पहाडतिर हुन्छ, बुवासागै हाई स्कूलसम्मको पढाई पहाडमा सक्छे । त्यहाा हुदा उसले डल्ली दिदीकी छोरी लिसरा पुन आˆनो हितैसी मित्र पाउछे । लिसराको बुवा मलेसिया गएर त्यतै हराएको हुन्छे । त्यहा बस्दा कति साथीले परागलाई धोतीको बच्चा भनेर जिस्काउदा लिसरा केटा नै नभनीकन मुक्का प्रहार गरिदिन्थे । एस. एल. सी पछि पराग आˆनो बुवाको साथीको घरमा बसेर काठमाडौंमा पढाई पुरा गर्न लागी । उनी बैकमा काम गर्न पनि थलि । एक समय उ आˆनो पेशाको हृयाङओभर पेटाउन मयुर नगर पुगिन्, एउटा चिया पसलमा चिया खाादै गर्दा कुराकानीमा चियापसले आमाको कथा सुन्ने अवसर पाइन् तर त्यहि आमाले नै पत्रकार भनेर चिनाई दिएकी पत्रकार........ बाल्यकालको साथी लिसरा पुनसाग एक्कासी भेट हुन्छे । व्म्यनेजमेन्ट पढेपनि पत्रकार अनि पराग बैकमा काम गरे पनि मास कम्युनिकेशनमा मास्टर गरि रहेको जस्ता कुराको भलाकुुसारी हुन्छ । लिसरा मयुर टाइम्सको अफिसमा परागलाई लान्छे र चिनपर्ची गराउछे । पराग ध्यानपूर्वक लिसराको काम हेरिरहन्छे, साच्ची कै उसको अटिला र साहसिक कुराले पराग गर्वले फुलिन्छे ।

त्यसै बेलामा मयुर टाइम्समा सम्पादकको अवश्यकता थियो, किन कि प्रशासक नै सम्पादक बन्दा अलि काम गर्न पनि अप्ठारो हुने गरेको थियो । लिसराले परागलाई सम्पादकमा अफर गरिन् तर शुरुमा मानिन् तर पछि उ बैकको जागिर छोडेर मयुर टाइम्सको सम्पादक बन् राजी भइन् । मयुर टाइम्स मोफसलको पत्रिका थियो । यसले प्रशासनको ढिलासुस्ती, लाचारीपनाका उदंग गथ्र्यो । द्घन्दको कारणले  परेको पीर मर्का देखि न्यायको लागि आवाज उठाउन यसले सानो मुद्घालाई राम्रो कभर गथ्र्यो । मयुर नगर पहाडी र मधेशीमुलको बस्ती थियो । त्यहाा पहाडबाट द्घन्दकै कारण विस्थपित भई फेरि मधेशबाट पनि त्यहि कारणले विस्थपित हुने महिमा मिस जस्ताको बसोस्थान थियो । दिनमा राजनितिक पार्टीको खोल ओड्ने राती सशस्त्र समुह को नाममा आतक मच्चाउने, अनि प्रहरी प्रशासन देखि सिडियो कार्यालय सम्मको मिलेमातोमा केशलाई थामथुम पार्ने जस्ता कुराको नालीवालीलाई पर्दाफास गर्न मयुर टाइम्स मार्फत खेलेको भुमिका लाई यसले डकुमेन्ट गरेको छ, यसरी गर्दा सम्पादक अपहरण परेको र यो पेशा छोडन् धक्की दिएको वरी परी यो उपन्यास घुमेको छ ।

नारायण वाग्लेले आˆनो पत्रकारिताको बखत कति ठाउामा आफूले भोगेको कुरालाई उपन्यास मार्फत पोखेका छन् । उनको मिठो भाषा त छदैछ, कति ठाउामा उनीे अनावश्यक बढी कल्पनिक भयो कि...  अध्याय ४ र ५ जहाा नारायण वाग्लेले बढी शब्दसाग खेल्न लाग्यो कि, त्यहाा नेर पढदा मलाई त्यति आनन्द चाहि लागेन । यो साधारण जो नेपाली अलि कति राजनीतिक रुपमा अपडेट रहन्छन्, त्यसको लागि भएन् कि, यो विदेशीको लागि र नेपालका द्घन्दको भने राम्रो डकुमेन्ट बनेको छ । ३०० नभएर २०० भन्दा माथि नगरेको भए विद्यार्थीहरुलाई अलि सहुलियत हुने थियो कि, मयुर टाइम्स नि अब स्टुडेन्ट भर्सन निकाल्दा राम्रो होला ।

Sunday, February 15, 2009

फोटोशेसन, वहस र नयाँ अनुभवको बीचमा प्रणय दिवश

"अरु दिन झन् प्रशस्त जोडी देखिने यो दिन टन्नै होला है भनेको त खाशै जोडी देखिन नि.. " - सौरभ यस्तै अड्कल वाजी काट्दै, हाँसो र खुशीका बीचमा एक हुल जत्था लिएर ट्रेकिङको लागि शिवपुरी राष्ट्रिय निकुञ्ज छिर्दै थिए । अघोषित रुपमा यात्राको गाइड चाँहि सौरभ र रघु थिए । यिनीहरु जोसिदै भन्दै थिए, ग्रुप बवाल मिलेको छ, हामी जता नि जान सक्छौ है, यो अलि extreme हाइकिङ हुन्छ । उनीहरुका फुर्ति, फार्ति नै वेग्लै थियो । हाईकिङ शुरु भयो सौरभ अघि अघि हामी पछि पछि.... extreme हाइकिङ भनेर होला, उनीहरुले बाटो सबै शटकट रोजे । हामी सबै हिडन थाल्यौ तर के बीस मिनेट हिडेको के थियो मेरो र सुरथको त हालत खराव... पछि परियो बा । अरु युवाहरु भने मानिस नहिडेको भर्जिन एरिया हिड्नु पर्छ, भनेर साँची नै कोही नहिडेको एरिया, जुन गार्‍हो छ, त्यही एरिया हिड्थे । तर कुनै बेला त आपत नै पारि दिन्थ्यो, लाग्थ्यो कि रक climbing नै गरिरहेछु कि क्या हो जस्तो । रघु वीच वीचमा refreshment गर्नको लागि फोटो, भिडियो खिच्थ्यो । अनि यो बाघको विष्ट हो, यो हरिणको भनेर हामीलाई भन्थ्यो, त्यस माथि पनि जंगलमा कसरी सरभाइभ हुने टिप्स सिकाउथ्यो । फेरि केहिछिन पछि उकालो पनि तेर्सोमा जस्तो घोडा कुदाई कुद्नुपथ्र्यो । कही अलि अचम्मको अजङको रुख, ढुंगा, लहारो वा अरु कुनै अनौठौ कुरा देख्यो कि रघु चढ्न वा एक्सपेरिमेण्ट गर्न कोसिस गरि हाल्थ्यो, अनि सौरभ त्यसलाई साथ दिन्थ्यो, साँची नै नेचरको त किसिमको थियो, सुरथ हाम्रो पुर्खहरु वाँदर, अनि वाँदरको पूर्खाहरु चाहि रघु हो कि क्या हो, भन्दै प्रतिक्रिया जनाउथ्यो, अनि रेवती प्रभु भन्दै त्यो गजल्टिएको कपाललाई खोलेर त्यो कोही नहिड्ने बाटो हिडदा साची नै अनुभव चाही नौलो थियो, कतिको लागि.... बाटो निस्कन्छ त !!! वनभोजवालाहरुको हुल... हामी यी जत्थाले अलि हाम्रो यात्रालाई विथोल्छ कि भनेर हामी दौड्यो, दौडमा सौरभ निकै माजले दौडिन्थ्यो । अनि जादै गर्दा त वाघद्धार नआई पुग्दै सुरज मित्र भोकले लखतरन भई सकेछ ।

अनि शिवपुरी बाबाको आश्रममा निर पुगेर लुछाचुडी गरि सातु, तरकारी, पाउरोटी खायौ सुरथ मात्रै भनेको त सबलाई पो भोक लागेछ, भोक मिठो कि भोजन भन्ने कुरा उखान साँची नै सम्झन योग्य भयो त्यति बेला । अनि अनेक पोज दिदै हामी उकालो के चढ्न लाग्या त हाम्रो गाइड सौरभलाई पेट दुख्यो भन्छ त बा... केहिछिनको विश्राम पछि हामी अगाडी बढ्यौ अनि लालीगुराँस फूलके देख्यो रघु लालिगुराँस टिप्न रुखमा चढिदियौ अनि ए फोटो खिच्न भनेर करायो पनि, रुखमै अनेक पोज थियो उसको । फुल टिप्नु के पाको थियो सौरभ मित्र प्रेम प्रस्ताव यसरी राख्नु पर्छ भनेर गफ हान्दै, फुलै लिएर दैखाउदै थिए । त्यसपछि त शिवपुरी डाडा जिन्दाबाद आइपुगेछ । सबैले लामो सास ताने अनि... के आउन पाको थियो... लखतरान....मित्रहरु लाग्थ्यो कि आफ्नै शयन कक्षमा पल्टिदै छ । जाने वित्तिकै त्यो चौरमा मरे जसरी नै पल्टि दियो, साँची नै पल्टिदाको आनन्द बेग्लै थियो । त्यति बेला कतिलाई बोल्दा नि झर्को लागि रहेको थियो ।

साँची आनन्दको अनुभुति:

केही छिन पछि ओरलो झर्‍यौ, फेरि केहि नयाँ कुरा के बाटोमा भेट्थ्यौ.... फोटोको लागि फरक फरक पोज दिई हल्थ्यौं । त्यसैमा अघिको एक जोडीलाई भेट्यो । उसले मलाई चिनेको रहेछ, बोल्यौ पनि । केहि छिन पछि सुरथ भन्दै थियो, साँच्ची नै कस्तो मेमोरेवल हुन्छ है यहाँ डेटिङ आयो भने... त्यसमा मैले नि सही थापे । ओरालो आयो, सबै दौडिन थाले । अलि सुनसानमा रघु र सौरभको प्रस्ताव योगासन गर्ने थियो, सबैले योग गरे साच्ची योगासन निकै रमाइलो भयो । अनि के हामी शिवपुरी नेर आइपुग्न लाग्यो फेरि सधैको वादविवाद पुजिबाद र कम्युनिजमको शुरु.....त्यो क्रम महाराजगञ्ज सुरथ नओर्लदा सम्म जारी... अनि केहि मुद्दा थाती राख्दै यो वर्षको प्रणय दिवस पनि प्रणय सुत्रका कुरा नगरी विदा । हेरौ अकौ साल के हुन्छ ।

३ फागुन २०६५, शनिबार